झापा, भदौ ८ । झापाको भद्रपुरबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
भद्रपुर नगरपालिका–८ बस्ने खुशबाबु श्रेष्ठका छोरा राज श्रेष्ठले आफ्नै घरबाट ब्राउन सुगर बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झापा (जिप्रका) बाट खटिएको टोलीले छापा मार्दा लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २०.४८ ग्राम (२० ग्राम ४८० मिलिग्राम), विभिन्न कम्पनीका ८ थान मोबाइल, नगद रू. १४,१७०, खुकुरी १ थान, पिलास १ थान र स्क्रु ड्राइभर १ थान बरामद भएको छ ।
पक्राउ परेका व्यक्तिहरु :
१. झापा, भद्रपुर–१० बस्ने बसिब सेखका छोरा २३ वर्षीय अलताप सेख
२. भद्रपुर–७ बस्ने सन्तोष राजबंशीका छोरा १९ वर्षीय रमित राजबंशी
३. भद्रपुर बस्ने गणेश पासीका छोरा २९ वर्षीय सुमित पासी
४. भद्रपुर–८ बस्ने खुशबाबु श्रेष्ठका छोरा २१ वर्षीय राज श्रेष्ठ
५. धादिङ, रुबीभ्याली गाउँपालिका–५ बस्ने रुप्चा तामाङका छोरा २४ वर्षीय गुम लामा
६. काठमाडौं, तारकेश्वर नगरपालिका–६ बस्ने नारायण तामाङका छोरा १९ वर्षीय न्यान्जी तामाङ
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।