निजामती कर्मचारी संगठनद्वारा पत्रकार खनालसहित चार जना पुरस्कृत

बिर्तामोड ,भाद्र -१५ / नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक सहकारी संस्थाको संयुक्त आयोजनामा पत्रकार उमाकान्त खनाललगायत चार जनालाई सम्मान गरिएको छ।

नेपाल निजामती कर्मचारी संगठनका कुशल संगठक स्वर्गीय प्रमोद तामाङको स्मृतिमा स्थापना गरिएको सुशासन पत्रकारिता पुरस्कार पत्रकार खनाललाई प्रदान गरिएको हो। पुरस्कारमा नगद ९ हजार ९ सय ९९ रुपैयाँ र सम्मानपत्र रहेको छ।

देशसञ्चार अनलाइनका उपसम्पादक तथा खबरमञ्च अनलाइनका प्रधान सम्पादक खनालले अढाइ दशकभन्दा लामो समय पत्रकारिता गर्दै आएका छन्। उनले बीबीसी नेपाली सेवासहित थुप्रै प्रतिष्ठित सञ्चारमाध्यममा काम गरिसकेका छन्।

त्यस्तै स्वर्गीय प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कार अर्जुनधारा नगरपालिकाका इन्जिनियर कमलराज पौड्याल र कनकाई सब डिभिजन वन कार्यालयका कार्यालय सहयोगी देवका गौतमलाई प्रदान गरिएको छ। उनीहरूले जनही १० हजार १ सय ५० रुपैयाँसहित सम्मानपत्र प्राप्त गरेका हुन्।

यस्तै मोहनमाया माध्यमिक विद्यालय, बिर्तामोडकी छात्रा ताकिता शर्मालाई कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएकोमा प्रमोद तामाङ स्मृति छात्रवृत्ति प्रदान गरिएको संगठनका झापा सचिव उदय मैनालीले जानकारी दिए। शर्माले नगद ५ हजार १ सय प्राप्त गरिन्।

भद्रपुर–१० मा आयोजित कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले जनतामुखी सेवाका लागि निजामती कर्मचारीले कन्जुस्याइँ नगरी इमान्दार सेवामा लाग्नुपर्नेमा जोड दिइन्।

कार्यक्रम संगठनका झापा अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज वशिष्ठ अधिकारीले स्वर्गीय प्रमोद तामाङको संगठन निर्माणमा महत्वपूर्ण योगदानबारे चर्चा गरेका थिए।