झापा, बिर्तामोड – विश्व पर्यटन दिवस–२०२५ को अवसरमा बिर्तामोडमा “वर्तमान पर्यटन क्षेत्र : अवसर र चुनौती” विषयक अन्तरक्रिया सम्पन्न भएको छ। ह्याप्पी ड्रिम्स चेप्टी प्रालिको आयोजनामा तथा पर्यटन पत्रकार मञ्च झापाको संयोजनमा भएको कार्यक्रममा पर्यटन क्षेत्रका सम्भावना र चुनौतीबारे छलफल गरिएको थियो।

कार्यक्रममा नेपालमा पर्यटनको ठूलो सम्भावना भए पनि सरकारले पर्याप्त लगानी र प्रचार–प्रसार नगरेका कारण अपेक्षित फाइदा लिन नसकिएको धारणा राखिएको थियो।
पर्यटन कार्यालय काँकरभिटाका प्रमुख छविलाल खतिवडाले पछिल्ला दुई आर्थिक वर्षमा तेस्रो मुलुकबाट नेपाल आउने पर्यटक संख्या दोब्बरले बढेको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९,७६१ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर १३,६७८ पुगेको छ।
त्यस्तै, काँकरभिटा नाका प्रयोग गर्ने भारतीय पर्यटक संख्या पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा ७१ हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ७८ हजार नाघेको खतिवडाले बताउनुभयो।
भर्खरै सार्वजनिक पर्यटन नीति–२०८२ बाट निजी तथा सामुदायिक पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास खतिवडाले व्यक्त गर्नुभयो।
तर निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले भने सरकारले उनीहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन्। ह्याप्पी ड्रिम्स चेप्टी प्रालिका सञ्चालक दिनेश शिवाकोटीले आफ्नै पहलमा वार्षिक पाँच लाखभन्दा बढी पर्यटक भित्र्याउन सफल भए पनि राज्यले कुनै सहयोग नगरेको बताउनुभयो। प्रचार–प्रसारको अभावमा वार्षिक ५० लाखभन्दा बढी भारतीय पर्यटक ल्याउने सम्भावना पनि गुमिरहेको उहाँको भनाइ थियो।
शिवाकोटीले नेपाल प्रवेश गर्ने विदेशी पर्यटकले सुरुवाती चरणमै विभिन्न झन्झटिलो प्रक्रिया सामना गर्नुपर्ने उल्लेख गर्दै सहज आवागमनको व्यवस्था मिलाउन सके पर्यटक संख्या अझ बढ्ने दाबी गर्नुभयो। उहाँका अनुसार हाल चेप्टी र ह्याप्पी ल्यान्ड गरी दुईवटा पर्यटकीय गन्तव्य सञ्चालनमा छन् भने साइन्स पार्क छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डेले सरकारी, निजी र सामुदायिक क्षेत्रबीच एकता र सहकार्य भए मात्र पर्यटन प्रवर्द्धनमा अपेक्षित परिणाम हासिल गर्न सकिने बताउनुभयो।
कार्यक्रम ह्याप्पी ड्रिम्सका सञ्चालक शिवाकोटीको अध्यक्षता, पर्यटन कार्यालय प्रमुख खतिवडाको प्रमुख आतिथ्यतामा र पत्रकार मञ्च अध्यक्ष पाण्डेको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा पर्यटन कार्यालयका अधिकृत निरज दर्नाल, ह्याप्पी ड्रिम्सका कर्मचारी लिलाराज कार्की र लोचन सापकोटा, पर्यटन पत्रकार मञ्चका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो। सहजीकरण मञ्चका उपाध्यक्ष पुष्प बरालले गर्नुभएको थियो।