बिर्तामोड, झापा असोज २० /
युवाहरूको सीप, ज्ञान र नेतृत्व क्षमताको खोजी गर्दै, आगामी दिनमा जूनियर वीरता जेसीज बिर्तामोडले अझ विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ।

जूनियर जेसीजका अध्यक्ष अस्मित गोसाईका अनुसार, “हामीसँगको सबैभन्दा ठूलो सम्पत्ति भनेको मानव क्षमतामा गरिएको लगानीहो। त्यसलाई अझ प्रभावकारी बनाउन नयाँ कार्यक्रमहरूको आवश्यकता छ,” भन्दै उनले नेतृत्व र व्यक्तित्व विकासका लागि संस्थाले निरन्तर नवीन प्रयास गर्दै आएको बताए।
जेसिज (JC’s) संस्था युवाहरूमा नेतृत्व, आत्मविश्वास र सामाजिक उत्तरदायित्व विकास गराउने “ट्रेनिङ विश्वविद्यालय”का रूपमा परिचित छ। यही उद्देश्यलाई अघि बढाउँदै, वीरता जूनियर जेसीजले आफ्ना सदस्यहरूका लागि निरन्तर सिकाइ र विकासका अवसर प्रदान गर्ने प्रशिक्षणमुखी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।
यसअघि पनि संस्थाले समुदायमा युवामुखी तथा सामाजिक चेतनामूलक अभियानहरू सञ्चालन गर्दै आएको छ। शैक्षिक मेला, जूनियर जेसीज गोट ट्यालेन्ट, र क्यारियर काउन्सिलिङ सेसन जस्ता कार्यक्रमहरू संस्थाले सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
त्यसैगरी, व्यक्तिगत, सामुदायिक, व्यवसायिक र अन्तर्राष्ट्रिय क्षेत्रमा केन्द्रित विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको जेसीजले अब चाँडै नै एक ऐतिहासिक “मुख्य परियोजना” सार्वजनिक गर्न लागेको जनाएको छ।
यस घोषणासँगै वीरता जूनियर जेसीजका सदस्यहरू तथा विद्यार्थीहरूमा निकै उत्साह देखिएको छ। स्थानीय तहदेखि शैक्षिक संस्थासम्म यस आगामी कार्यक्रमबारे चासो व्यक्त हुन थालेको छ।
हालै सम्पन्न नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनमा जूनियर वीरता जेसीज बिर्तामोडका अध्यक्ष अस्मित गोसाईले “सर्वश्रेष्ठ उदाउँदो अध्यक्ष” पुरस्कार प्राप्त गरेर संस्थाको प्रतिष्ठा थप उचो पारेका छन्।
