दमक झापा प्रेस चौतारी नेपाल झापाले दमकका मिडिया सञ्चालक र पत्रकारलाई सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गराएको छ। कार्यक्रममा दमक क्षेत्रका मिडिया सञ्चालक तथा पत्रकारहरूको सक्रिय सहभागिता थियो।

सहजीकरण सत्रमा सामाजिक सुरक्षा कोष कोशी प्रदेश प्रमुख दिपकराज भट्ट र आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख ज्ञानेन्द्र प्रसाद यादवले प्रशिक्षण दिएका थिए।
कोष प्रमुख भट्टका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको जीवनभरको सुरक्षाका लागि श्रमिक र रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने सरकारी योजना हो। यसअन्तर्गत कामदारको मासिक तलबको ३१ प्रतिशत रकम कोषमा जम्मा हुन्छ, जसमा ११ प्रतिशत कामदार र २० प्रतिशत रोजगारदाताले योगदान गर्नुपर्ने व्यवस्था छ।
कोषमा आवद्ध भए वापत दुर्घटना विमा, स्वास्थ्योपचार, मातृत्व भत्ता, शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, दीर्घकालीन पेन्सन लगायतका सुविधा पाइने भट्टले जानकारी दिए। यसमा औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा वैदेशिक रोजगारमा संलग्न व्यक्तिहरू समेत आवद्ध हुन सक्ने व्यवस्था छ।
यस्तै, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख यादवले लेखा व्यवस्थापन र कर प्रणालीबारे सहजीकरण गर्दै कारोबारका आधारमा कर तिर्नुपर्ने, समयमा कर नबुझाउँदा जरिवाना लाग्ने तथा बिल–विजक व्यवस्थाबारे विस्तृत जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईटेलले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु श्रमिकका लागि दीर्घकालीन सुरक्षाको उपाय हुने भन्दै सबैलाई यसमा आवद्ध हुन आग्रह गरे।
कार्यक्रमको अध्यक्षता प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले गरेका थिए। कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, केन्द्रीय सदस्य विष्णु पोखरेल, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, हिमशिखर टिभीका सञ्चालक ध्रुव न्यौपाने, प्रदेश उपाध्यक्ष युवराज विवश, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराईलगायतको उपस्थिति थियो।