बिर्तामोड, झापा — वीरता जुनियर जेसिसले आयोजना गरेको ‘जुनियर जेसिस ट्रेनिङ सप्ताह’ आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
“Learning Together, Leading Forever” भन्ने थिममा सञ्चालन गरिएको उक्त कार्यक्रम आठ दिनसम्म निरन्तर सञ्चालन भई १२ वटा फरक–फरक प्रशिक्षण सत्रहरू सहित सम्पन्न भएको हो।

कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष लाभ लिएका थिए। सहभागीहरूले व्यावसायिक जीवनमा उपयोगी हुने आकर्षक र प्रभावकारी CV तयार गर्ने सीप, आत्मविश्वास, नेतृत्वसिप, उद्यमशील सोच, सेयर बजार लगानी र वित्तीय सचेतना सम्बन्धी आधारभूत ज्ञान प्राप्त गरेका थिए।
त्यसैगरी, बोल्ने कला, उद्घोषण कला, स्टेज ह्यान्डलिङ, कार्यक्रम सञ्चालन, समूहमा काम गर्ने दक्षता र समय व्यवस्थापन सम्बन्धी प्रशिक्षणहरू पनि प्रदान गरिएको थियो।
सहभागी विद्यार्थीहरूले उक्त प्रशिक्षणले व्यवहारिक सीप, सकारात्मक सोच र जिम्मेवार नागरिक बन्ने प्रेरणा दिएको प्रतिक्रिया दिएका छन्।
समापन समारोहका प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता वीरता जुनियर जेसिसका अध्यक्ष अश्मित गोसाईले गर्नुभएको थियो।
प्रमुख अतिथि न्यौपानेले युवाहरूमा नेतृत्व र आत्मविश्वास विकास गर्ने यस्ता प्रशिक्षणहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, अध्यक्ष गोसाईले यस्ता कार्यक्रमहरूले बालबालिकामा नेतृत्व, आत्मविश्वास र उद्यमशील सोच विकास गर्ने अवसर प्रदान गर्ने भन्दै भविष्यमा पनि यस्ता गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रशिक्षार्थीहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको समग्र संयोजन वीरता जुनियर जेसिसका पदाधिकारीहरूको टोलीले गरेको थियो। आयोजकका अनुसार, उक्त प्रशिक्षणले सहभागी बालबालिकामा “सिक्दै अघि बढ्ने, नेतृत्व गर्दै परिवर्तन ल्याउने” भावना अभिवृद्धि गरेको छ।
कार्यक्रममा विभिन्न संघ–संस्था, विद्यार्थी, प्रशिक्षक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
