छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु, देशभरका घाटहरू बेहुली झैँ सिगारिए 

✍️ममता अधिकारी 

सूर्यदेवको आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइने चारदिने महान् छठ पर्व आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ। आज पहिलो दिन ‘नहाय–खाय’ विधिद्वारा यस पर्वको शुभारम्भ गरिएको छ।

छठ पर्व सूर्य भगवान र छठी माईको पूजा–अर्चना गरेर सम्पन्न गरिन्छ। व्रतालुहरूले यस पर्वमा अत्यन्त निष्ठा, संयम र पवित्रताका साथ सबै विधि पालना गर्छन्। यो पर्वमा दुई दिनसम्म बिना अन्नपानी उपवास बसेर आत्मसंयम र भक्तिको प्रतीक प्रदर्शन गरिन्छ।

 पौराणिक कथाअनुसार छठ पर्वको आरम्भ सूर्यपुत्र कर्णले गरेका थिए। महाभारतका योद्धा कर्णले सूर्यदेवको आराधना गरी प्रतिदिन नदीमा डुब्की लगाएर दान गर्ने गर्थे। त्यसै परम्परालाई पछि सप्तर्षि र ऋषिपत्नीहरूले पनि अनुसरण गरे। अर्को विश्वास अनुसार सप्तकन्याहरूमध्ये छठी कन्या  बालबालिकाको दीर्घायु र परिवारको समृद्धिका लागि आशीर्वाद दिने शक्तिशाली देवी हुन्। त्यसैले सूर्य र छठी माईको संयुक्त आराधना यस पर्वको मुख्य सार हो।

 पहिलो दिन – नहाय–खाय:

व्रतालुहरूले बिहान पवित्र नदी वा पोखरीमा स्नान गरी घरको शुद्धिकरण गर्छन्। त्यसपछि शुद्ध अन्नको सेवन गरी पर्वको आरम्भ गर्छन्।

दोस्रो दिन – खरना 

यस दिन व्रतालुले दिनभर निर्जल उपवास गर्छन्। साँझपख खीर, रोटी र फलफूल चढाएर सूर्यदेवलाई अर्पण गरी प्रसाद ग्रहण गरिन्छ।

तेस्रो दिन – अर्घ्य 

छठको मुख्य दिन मानिने यस दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। घाटमा ठेकुवा, भुसवा, केराको घरी, माटोको हात्ती, कलश, कनसुपती जस्ता सामग्रीसहित पूजा गरिन्छ। महिलाहरू परम्परागत पोशाकमा सुसज्जित भई गीत गाएर पूजा गर्छन्।

चौथो दिन –

अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको विधिवत् समापन हुन्छ। यसरी अस्ताउँदो र उदाउँदो सूर्य दुवैलाई अर्घ्य दिने एकमात्र पर्व भएकाले यसको धार्मिक र वैज्ञानिक दुवै महत्व छ।

 छठ पर्वलाई लक्षित झापाका, मेची, कन्काई, बिरिङ, अदुवा खोला,रत्वा,मावा, लगायतका प्रमुख नदि तथा तलावुहरू आकर्षक रूपमा सजाइएका छन्। रंगीन बत्ती, फूलमाला र स्वागत तोरणहरूले घाटहरू बेहुलीझैँ झल्किएका छन्। स्थानीय सरकार र नागरिक समितिहरूले सफाइ र सुरक्षा व्यवस्थामा विशेष ध्यान दिएका छन्।

 पर्व नजिकिँदै गर्दा बजारहरूमा माटो र बाँसका वस्तुहरू—डलिया, सूपा मान्डा, कलश, घैटो आदि खरिद गर्न आउनेको भीड बढेको छ। व्यापारीहरूका अनुसार शुद्ध र पवित्र मानिने यी सामग्रीको माग अहिले अत्यधिक छ।

 छठ पर्वले समाजमा पारिवारिक स्नेह, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिन्छ। यसले सूर्यदेवप्रति कृतज्ञता व्यक्त गर्दै प्रकृतिप्रति सम्मान र संरक्षणको भाव जागृत गर्छ।

यसरी श्रद्धा, विश्वास र पवित्र भावनासँग जोडिएको छठ पर्व केवल धार्मिक चाड मात्र नभई आस्था, अनुशासन र प्रकृतिप्रतिको आभार प्रकट गर्ने महान् पर्व हो।