उद्योगको लाइन काटिँदा प्राधिकरणलाई दैनिक ६ करोड घाटा, ४ सय मेगावाट बिजुली खेर 

झापा बिर्तामोड । देशभरका उद्योगहरूको विद्युत् लाइन काटिँदा नेपाल विद्युत् प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी भएको छ।

प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक डा. मुकेश काफ्लेका अनुसार, उद्योग क्षेत्र बन्द हुँदा प्राधिकरणले दैनिक करिब ६ करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ।उनका अनुसार दैनिक २५० देखि ४ सय मेगावाटसम्म बिजुली खेर गइरहेको छ, जसको कुनै उपभोगकर्ता छैन।

उद्योग बन्द हुँदा करिब ४० हजारभन्दा बढी श्रमिकहरू बेरोजगार भई वेतनविहीन बिदामा बस्न बाध्य भएका छन्। यसले व्यवसायिक वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै देशको कुल राजस्वमा ठूलो घाटा पुगेको बताइएको छ।

विशेषज्ञहरूका अनुसार, यस्तो अवस्थाले लगानीकर्ताको विश्वासमा असर पुर्‍याएर औद्योगिक क्षेत्रलाई थप संकटमा धकेल्ने जोखिम बढेको छ।