बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला

झापा / आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको शव झापाको झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिक बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ।

Screenshot

वडा नम्बर १० का सदस्य दीपक पोखरेलका अनुसार शनिबार बिहान घटनास्थलमा दुर्गन्ध फैलिन थालेपछि स्थानीयको सूचना आधारमा खाल्टो खनेर हेर्दा शव फेला परेको हो। उनले भने, -‘शव सड्न थालेको अवस्थामा भेटिएको छ, साथमा रहेको नागरिकताका कारण परिवारले सनाखत गर्न सकेका छन्।’

परिवारका सदस्यहरू घटनास्थलमा पुगेका थिए। प्रारम्भिक अनुमान अनुसार सरोजको हत्या गरी घटना लुकाउनका लागि शव पुलमुनि गाडिएको हुनसक्ने बताइएको छ। वडा सदस्य पोखरेलले दोषीको शीघ्र पहिचान गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो। आगलागीपछि कार पूर्णरूपमा जलेको अवस्थामा भेटिएको थियो।

स्थानीयले जंगलभित्र कारमा आगो बलिरहेको देखेपछि प्रहरी र दमकललाई खबर गरेका थिए। आगो निभाएपछि प्रहरी टोलीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

शिवसताक्षीका सरोज शर्मा गत आइतबारदेखि सवारीसहित बेपत्ता भएका थिए। उनका बुबा सकलदेव शर्माका अनुसार छोरा र गाडी दुबै सम्पर्कविहीन भएपछि परिवारले खोजी कार्य अघि बढाएको थियो। पाँच दिनपछि कार आगजनी अवस्थामा भेटियो भने आठ दिनपछि शव पुलमुनि गाडिएको अवस्थामा फेला पर्‍यो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीका एक अधिकारीले भने,-‘आगजनी गरिएको गाडी र फेला परेको शवबीचको सम्बन्ध स्पष्ट भइसकेको छ। प्रारम्भिक रूपमा यो हत्या गरी सब गाडिएको जस्तो देखिन्छ, तर घटनाको कारण र दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको छ।’

यस घटनाले शिवसताक्षी र आसपासका क्षेत्रमा त्रास फैलिएको छ। स्थानीयवासीले घटनाको छिटो र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।