झापा, कात्तिक ३० ।
बिर्तामोड नगरपालिका–१० का वडा सभापति मदन गुरुङद्वारा कांग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । पछिल्लो दुई स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको बिर्तामोड–१० ले पार्टीको इज्जत जोगाएको थियो । सो सफलताका पछाडि गुरुङको सक्रियता, संगठन विस्तार र चुनावी रणनीति प्रमुख कारण मानिँदै आएको थियो ।

लगातार दुई कार्यकाल दुर्योधन गुरुङलाई वडाध्यक्ष जिताउन मदन गुरुङले निभाएको भूमिका कांग्रेसभित्र उदाहरणका रूपमा पेश गरिन्थ्यो । तर यही नेता आज पार्टी नेतृत्वप्रति गुनासो, वेवास्ता र अपहेलनाका कारण रुँदै पार्टी छोड्न बाध्य भएको बताए ।
गुरुङसहित एक दर्जनभन्दा बढी कांग्रेस तथा एमाले पृष्ठभूमिका कार्यकर्ता आज बिहानै राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको हल्दीबारी–१ स्थित निवासमा पार्टी प्रवेश गरेका छन् । राप्रपामा प्रवेश गर्नेहरूमा कांग्रेसका क्षेत्रीय सदस्य छविराम आचार्य, क्रियाशील सदस्य भोलानाथ भट्टराई, पुकार अर्याल, हरि उप्रेती, भिम थापा, कुमार गुरुङ लगायतका नेता कार्यकर्ता छन्।
दश वर्षसम्म कांग्रेसको वडा सभापति रहँदै संगठनलाई बलियो बनाएका मदन गुरुङ आज पार्टी छोड्दा निकै भावविह्वल देखिए । उनले भने–
“वर्षौ काम गरेको पार्टी हो, बाबुबाजेदेखि हाम्रो परिवार कांग्रेसकै हो । तर २०७४ सालदेखि निरन्तर अपहेलित हुँदै आएँ । रुँदै रुँदै कांग्रेस छोड्नुपर्यो।”
उनका अनुसार कांग्रेसभित्र चाकडीवाज, झोले प्रवृत्ति हावी हुँदै गएको, इमानदार कार्यकर्तालाई पछाडि धकेल्ने संस्कृति बढेको र नेताहरूको दबदबा असह्य बन्दै गएको कारण उनीहरू पार्टी छोड्न बाध्य भए ।

बिर्तामोड–१० पर्ने झापा क्षेत्र नं. ३ मा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको एकलौटी प्रभाव रहेको असन्तुष्ट कार्यकर्ताहरूको गुनासो छ ।
नेतृत्वको आशीर्वाद बिना संगठनमा टिक्न नसकिने अवस्था बनाइएको र गुटगत राजनीति बढेकाले सक्रिय कार्यकर्ता कमजोर र निराश बनेको तर्क उनीहरूको छ।
गुरुङसहित पार्टी परित्याग गर्नेहरूले कांग्रेसभित्र असन्तुष्टि बढिरहेको उल्लेख गर्दै निकट भविष्यमा अझै कार्यकर्ता पार्टी छोड्न सक्ने बताएका छन् ।

मदन गुरुङ कांग्रेसबाट विजयी वडाध्यक्ष दुर्योधन गुरुङका भाइ समेत हुन्, जसले स्थानीय राजनीतिको सन्तुलनमा यो घटनाले महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।