सेलिब्रेटी कि मोडेल !

✍️ प्रेम गिरि 

अब हामीले एउटा रोज्नुपर्छ। नेपाली भएर नेपालको हितमा कि नेपालीको नाममा परचक्रीको योजनामा चल्ने ? भावना र उत्तेजना अस्थायी हुन्छ। यसको सम्बन्ध मनसँग हुन्छ। रोजाई बुद्धि हो यसको सम्बन्ध बिबेकसँग हुन्छ। बिबेकपुर्ण निर्णयको आशन स्थायी हुन्छ।

आज देशमा चर्चित भनिएका एकथरीलाई नशामा लठ्ठ पारेर देश, लोकतन्त्र र राजनीतिक प्रणालीको विरुद्धमा बर्बराउन लगाइन्छ। सिंहदरवार लगायतका देशभरी भौतिक संरचना जलाएर पुरातात्त्विक, ऐतिहासिक, साँस्कृतिक, न्यायिक, प्राबिधिक र आर्थिक आधार समाप्त पारिन्छ। भौतिक बस्तु बनाइहाल्छौं भनेर ठूलो अपराध र नोक्सानीलाई सानो आश्वासनले अल्मल्याउने कुरा गरिन्छ। डब्बल नागरिकता, डब्बल पासपोर्ट आँफै बोक्छन् । सहकारी लगायतका दर्जनौं कसुर र अपराधमा आँफै छानविनको माग गर्छन् ।आफ्नै सांसदको शिफारिशमा मुद्धा भिर्ने र अदालत धाउने आँफै बन्छन्। ध्वंशको मौकामा आँफै जेलबाट निस्कने फेरि आँफै लुरुलुरु जाने र  करोडौं धरौटीमा मुद्दा डिल गर्ने गर्छन्। यो धन कहाँबाट जोहो हुन्छ? यी पात्रहरु नै आज सेलिब्रेटी छन् । कस्मेटिक बस्तुले सिंगारिएका छन्। बाह्य फण्डिङ्मा उफ्रेका छन्। 

हाम्रो जस्तो सानो, गरीव  र रणनीतिक महत्व राख्ने देशमा बाह्य हस्तक्षेप र चलखेल उहिल्यैदेखि निरन्तर छ। देशको अहितका लागि र उनीहरुको स्वार्थका लागि गरिने नियुक्ति उहिल्यैदेखिकै हो। आज देखा परेकाहरु नयाँ भेरिएन्ट मात्र हुन्। यी स्वचालित होइनन् , परिचालितसँगै युज&थ्रो नै हुन्।

जस्तोसुकै हमला, अपमान र मानसिक यातनाका तानावाना जसको आडमा र योजनामा गरेपनि राष्ट्र, संविधान र लोकतन्त्रका लागि देशभक्तले पिठ्युँ फर्काउन सकिँदैन। सबैखाले हमला र निरंकुशताको बिरुद्ध जवाफी हमलाका लागि  हिजो पनि हाम्रा जवानी र निजी जीवन निस्वार्थ अर्पण गरिएकै हो। निरंकुश तानाशाहलाई तह लगाएकै हो। आजका यी परिचालितहरुले मौका छोपेर धेरै थै थै र ताउरमाउर गर्दा कोहि पनि तर्सिंदैन। पराइको हितमा काम गरेर क्षणिक कस्मेटिक र सेलिब्रेटी मात्रै किन बन्छौ? ओरिजिनल र मोडेल त जनजनको दिलभित्र बसेको हुन्छ। 

अत: हामी सबैले भावना, उत्तेजना र भ्रममा होइन। पिसावको न्यानोको क्षणिक आशमा होइन। बुद्धि, बिबेक र यथार्थको विश्वासमा राष्ट्रको माटो मुठ्ठीमा बोकेर मोडेल के हो र कसरी हो चिन्तन गरौं।

उहाँ नेकपा एमालेको जिल्ला अध्यक्ष हुनुन्छ