झापा , पुस २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले आक्रमणलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाबाट भएको सैन्य आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

पार्टी केन्द्रीय महासचिव गौरबद्वारा जारी प्रेस विज्ञप्तिमा अमेरिकाले बोलिभेरियन गणराज्य भेनेजुएलाविरुद्ध गरेको स्पष्ट र आपराधिक सैन्य आक्रमण अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा सार्वभौमिकता, क्षेत्रीय अखण्डता र गैर–हस्तक्षेपसम्बन्धी विश्वव्यापी मान्यताहरूको घोर उल्लङ्घन भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका साम्राज्यवादी दुष्प्रयासहरूले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा शान्ति र स्थायित्वलाई गम्भीर खतरामा पार्दै लाखौँ भेनेजुएलाली जनताको जीवन असुरक्षित बनाइरहेको छ।”
नेकपा (माओवादी)ले उक्त आक्रमणलाई अमेरिकी साम्राज्यवादको आक्रामक चरित्रको अर्को उदाहरणका रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय मान्यताप्रति अमेरिकाको निरन्तर अवहेलनालाई उजागर गरेको जनाएको छ।

पार्टीले राष्ट्रिय सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता र विकासको आफ्नै बाटो रोज्ने भेनेजुएला सरकार तथा जनताको अधिकारको पूर्ण समर्थन गर्दै यस्तो आक्रमणबाट शासन परिवर्तन गराउने उद्देश्य सफल नहुने स्पष्ट पारेको छ। साथै, संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार भेनेजुएलाको वैध आत्मरक्षाको अधिकारलाई समर्थन गर्ने निर्णयको स्वागतसमेत गरिएको छ।
नेकपा (माओवादी)ले विश्वभरका शान्तिप्रेमी जनता, लोकतान्त्रिक शक्ति र प्रगतिशील सरकारहरूलाई साम्राज्यवादी आक्रमणविरुद्ध आवाज उठाउन तथा शान्ति, सार्वभौमिकता र आत्मनिर्णयको पक्षमा बोलिभेरियन क्रान्ति र भेनेजुएला जनतासँग ऐक्यबद्धता जनाउन अपिल गरेको छ।
