नगर प्रमुख महताराद्वारा ‘पत्रकार उपचार कोष’ लाई ५१ हजार रूपैयाँ प्रदान गर्ने घोषणा

शिवसताक्षी, माघ २२ – बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले आफ्ना स्वर्गीय श्रीमान् ज्ञानुराम प्रसाईको स्मृतिमा पत्रकार उपचार कोषलाई ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन्।

प्रेस चौतारी नेपाल झापाले मंगलबार शिवसताक्षी–१०, दोमुखामा आयोजना गरेको २७औं स्थापना दिवस समारोहमा उनले उक्त सहयोग घोषणा गरेकी हुन्। उनले स्व. प्रसाई पत्रकार हितका पक्षमा सधैं सक्रिय रहेको स्मरण गर्दै उपचार कोषमा योगदान दिन पाउँदा खुशी लागेको बताइन्।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ, कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले व्यक्तिगत रूपमा ५ हजार रुपैयाँ कोष संयोजक भीमा शिवाकोटीलाई हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई रहेका थिए। नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, समाजवादी प्रेस संगठन झापाका अध्यक्ष शम्भू दाहाल, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई र उपाध्यक्ष मदन बुढाथोकीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए।

पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि राहत संकलन अभियानलाई निरन्तरता दिने योजना प्रेस चौतारी झापाले जनाएको छ।

कार्यक्रम सांस्कृतिक प्रस्तुतिसहितको वनभोजका रूपमा आयोजना गरिएको थियो। यस अवसरमा अश्लील, मिथ्या र भ्रामक समाचार प्रवाहविरुद्ध हस्ताक्षर संकलन कार्यक्रमसमेत गरिएको थियो।

साथै, चौतारी झापाको भर्खरै सम्पन्न अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि राईले प्रमाणपत्र हस्तान्तरण गरेका थिए। निर्वाचन समितिका सदस्य गोपाल काफ्लेले प्रमाणपत्र वितरण कार्यक्रमको सहजीकरण गरेका थिए।

चौतारी झापाका अध्यक्ष प्रदी परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष राजु पोखरेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए।