
माघ २४, २०८१, बिर्तामोड – सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा झापा र पाँचथरका तीन सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
बिर्तामोड–६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईं ले सहकारी क्षेत्रबाट गरिने सामाजिक कार्यले सरकारलाई समेत सहयोग पुग्ने बताइन्। “सबै क्षेत्रमा सरकारको पहुँच पुग्न कठिन छ। यस्ता सहयोगले विद्यार्थी, अभिभावक मात्र होइन, स्थानीय सरकारलाई समेत मद्दत पुग्छ,” उनले भनिन्।
कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराई को अध्यक्षता रहेको थियो। सो अवसरमा सरस्वती माध्यमिक विद्यालयका कक्षा १ देखि ७ सम्मका १६२ विद्यार्थीलाई ब्याग, भद्रपुर नगरपालिकास्थित महेशपुर आधारभूत विद्यालयका १०० विद्यार्थीलाई ब्याग तथा पाँचथरको सिद्धकाली आधारभूत विद्यालयका सबै विद्यार्थीलाई स्वीटर वितरण गरिएको थियो।

सामाजिक उत्तरदायित्व बहन गर्दै शैक्षिक सामग्री वितरण
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत ले सिम्रिक सहकारी मुलुकको १० औं र झापाको चौथो ठूलो सहकारी संस्था भएको उल्लेख गर्दै, “संस्थाले आर्जन गर्ने नाफाको ५ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ,” भने।
संस्थाका अध्यक्ष सुवास भट्टराई ले बर्सेनि ८–१० हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिँदै आएको जानकारी गराउँदै यस वर्ष ९ हजार विद्यार्थीलाई सामग्री प्रदान गरिएको बताए।
कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक लुइँटल, वडा सदस्य खेम अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कैलाश कन्दङ्वा, मसाले कृषि सहकारीका अध्यक्ष तेजबहादुर कन्दङ्वा लगायतले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए।
यसैक्रममा, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल को प्रमुख आतिथ्यमा महेशपुर आधारभूत विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरिएको थियो। त्यस्तै, फिदिम सेवा केन्द्रले पाँचथरको सिद्धकाली आधारभूत विद्यालयका सबै विद्यार्थीलाई स्वीटर प्रदान गरेको छ।
फिदिम–४ मा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनाल, वडा अध्यक्ष उपेन्द्र लावती, वडा सदस्य चन्द्र खनाल, राष्ट्रिय सहकारी बैंक फिदिम शाखाका प्रमुख इम्तियाज आलम, प्रधानाध्यापक ध्रुवकुमारी बोहोरा, सेवा केन्द्र सञ्चालन समितिका सदस्य मिलन गिरी, बलराम मैनाली, सेवा केन्द्र प्रमुख सुरज मैनाली लगायतले विद्यार्थीलाई स्वीटर वितरण गरेका थिए।
सहकारी क्षेत्रको सकारात्मक पहललाई जोड दिँदै नगरप्रमुख प्रसाईंले सहकारीका विषयमा गलत अपवाह नफैलाउन आग्रह गरिन्। साथै, सहकारी क्षेत्रमा देखिएका समस्याहरूको उचित व्यवस्थापनका लागि सरकार जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिइन्।