बिर्तामोड वडा नं. ७ मा अनलाइन नागरिकता सिफारिश सेवा, १५० जनाले लिए लाभ

बिर्तामोड, झापा। बिर्तामोड नगरपालिका वडा नं. ७ मा अनलाइन नागरिकता सिफारिश प्रणाली सञ्चालनमा आएको करिब दुई महिना भइसकेको छ। हालसम्म १५० जना नागरिकले यस सेवाको लाभ लिइसकेका छन्।

वडाध्यक्ष अविरल कृष्ण खरेल का अनुसार यस प्रणालीले नागरिकहरूको समय बचत गर्ने, प्रशासनिक प्रक्रियालाई सहज बनाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। उनका अनुसार सेवा प्रभावकारी बनाउन वडा कार्यालयले प्राविधिक सहजीकरण, आवश्यक जनशक्ति तथा सूचना प्रवाह प्रणालीलाई व्यवस्थित बनाउने योजना अघि सारेको छ।

नगरपालिकाले अन्य वडाहरूमा पनि यस प्रणाली विस्तार गर्ने लक्ष्य राखेको जानकारी गराइएको छ, जसले सम्पूर्ण नगर क्षेत्रलाई प्रविधिमैत्री नागरिक सेवा प्रणालीमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।