विश्वभर बुद्ध जयन्ती धूमधामसँग मनाइँदै, शान्ति र करुणाको सन्देश फैलाउँदै

बिर्तामोड, वैशाख २९।
आज विश्वभर भगवान गौतम बुद्धको २५६९ औ जन्म जयन्ती ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाण दिवस एकैसाथ मनाइँदैछ। बुद्ध जयन्तीको अवसरमा नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान, कम्बोडिया लगायत दर्जनौं मुलुकमा बौद्ध धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र धार्मिक कार्यक्रमहरूका साथ यो दिन मनाइरहेका छन्।

नेपालको लुम्बिनी—जहाँ सिद्धार्थ गौतमको जन्म भएको मानिन्छ—मा आज विशेष कार्यक्रम, पूजा, ध्यान तथा प्रवचनका कार्यक्रम सम्पन्न भइरहेका छन्। लुम्बिनी विकास कोष, विभिन्न बौद्ध संघसंस्थाहरू र स्थानीय प्रशासनको संयोजनमा बिहानैदेखि पूजा, दीप प्रज्वलन, र शान्ति यात्राजस्ता कार्यक्रम आयोजना गरिएको हो। हजारौं श्रद्धालुहरू बुद्ध जन्मस्थलमा उपस्थित भई पूजा र ध्यानमा सहभागी भएका छन्।

त्यस्तै, काठमाडौं उपत्यकाको स्वयम्भूनाथ, बौद्धनाथ, कपन गुम्बा लगायतका स्तूपहरूमा पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। स्तूप परिसरहरूमा प्रार्थना झण्डा, दीपमालिका र फूलले विशेष सजावट गरिएको छ।

बुद्ध जयन्तीको अवसरमा आज देशभरका बौद्ध मठ, गुम्बा र स्तूपहरूमा विशेष धार्मिक क्रियाकलापहरू आयोजना गरिएको छ। विभिन्न धर्मगुरुहरूले बुद्धका उपदेशहरू स्मरण गराउँदै वर्तमान समयको हिंसा, द्वन्द्व र तनावका अवस्थामा बुद्धका शिक्षालाई मार्गदर्शनको स्रोतका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। शान्ति, अहिंसा र करुणाको सन्देश बोकेको यो दिनलाई बौद्ध अनुयायीहरूले विशेष श्रद्धाका साथ मनाइरहेका छन्।

यस वर्ष बुद्ध जयन्ती वैशाख शुक्ल पूर्णिमाका दिन, अर्थात् २०८२ सालको वैशाख २९ गते (१२ मे २०२५) परेको हो। हिन्दू र बौद्ध परम्परा दुवैमा यो दिन विशेष धार्मिक महत्व राख्दछ।

बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति , प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरूमार्फत पनि शुभकामना सन्देश दिइएको छ।