
झापा, हल्दिबारी – हल्दिबारी गाउँपालिका–३ स्थित ढडुवा बजारमा आइतबार एक विशेष कार्यक्रमका बीच सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम ढडुवा बजार व्यवस्थापन समिति, ढडुवा युवा क्लब, ट्राफिक प्रहरी कार्यालय झापा, जलथल प्रहरी चौकी, रातमाटे सामुदायिक वन तथा चौकीविरान सामुदायिक वनको संयुक्त सहकार्यमा आयोजना गरिएको हो।
उक्त कार्यक्रम बजार व्यवस्थापन समितिका उपाध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा सम्पन्न भयो भने कार्यक्रमका प्रमुख अतिथि वडा नं–३ का वडा अध्यक्ष विष्णु प्रसाद ओली थिए।
कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी, रातमाटे सामुदायिक वनका अध्यक्ष जनक तामाङ, चौकीविरान सामुदायिक वनका अध्यक्ष अमर मेयाङ्वो, ढडुवा युवा क्लब अध्यक्ष कुलप्रसाद न्यौपाने, ट्राफिक प्रहरी रामचन्द्र दाहाल, रेडक्रसकर्मी, पत्रकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न हुलाकी राजमार्ग अन्तर्गत ढडुवा बजार क्षेत्रका तीनवटै दिशातर्फ — पश्चिम, उत्तर र पूर्वतर्फ — २/२ थान गरी कुल ६ थान स्पीड ब्रेकर निर्माण गरिएको छ।
यी स्पीड ब्रेकर चौकीविरान सामुदायिक वन उपभोक्ता समिति र रातमाटे सामुदायिक विद्यालयद्वारा ढडुवा बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो।
बजार समितिले सरोकारवाला निकायहरूसँग समन्वय गर्दै ती स्पीड ब्रेकरहरू आज औपचारिक रूपमा स्थापना गरेको जानकारी जनक तामाङले दिनुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी सचेतना कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत जनाउनुभयो।
कार्यक्रममा ट्राफिक प्रहरी रामचन्द्र दाहालले ट्राफिक नियमका विषयमा सहभागीहरूलाई अभिमुखीकरण गराउनुका साथै समाजमा सडक सुरक्षाको महत्वबारे जानकारी दिनुभयो।
प्रमुख अतिथि विष्णु प्रसाद ओलीले कार्यक्रममा समावेशी सहभागिता र सहकार्यको सराहना गर्दै सामाजिक रुपान्तरणका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण ढडुवा युवा क्लब र बजार व्यवस्थापन समितिका सचिव अभिषेक खतिवडाले गर्नुभएको थियो।