बुद्धशान्ति, जेठ १४ – बुद्धशान्ति प्रेस क्लबले कार्यक्षेत्र बुद्धशान्तिमा सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै निःशुल्क सामूहिक दुर्घटना बीमा गरिदिएको छ।

क्लबले २० जना पत्रकारहरूको नाममा जनही १ लाखका दरले कूल २० लाख बराबरको बीमा व्यवस्था गरेको हो। प्रेस क्लबको वार्षिक कार्यक्रमअनुसार बीमा हरेक वर्ष नविकरण हुने गरी गरिएको क्लब अध्यक्ष तीर्थराज तिम्सिनाले जानकारी दिनुभयो। उहाँले पत्रकारहरूको भौतिक सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा बीमाले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।

ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारहरूको पेशागत र भौतिक सुरक्षालाई ध्यानमा राखी बीमा गरिएको उल्लेख गर्दै क्लबका उपाध्यक्ष नारायण अर्यालले दुर्घटना बीमा अत्यन्त आवश्यक भएको बताउनुभयो।
बीमाका लागि विभिन्न सेवाप्रदायक कम्पनीहरूसँग प्रस्ताव माग गरिएकोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी चयन भएको क्लबका सचिव रोशन भट्टराईले जानकारी दिनुभयो। बीमा सम्झौता पत्रमा नेपाल माइक्रो इन्स्योरेन्सका बिर्तामोड शाखा प्रमुख दीपक काफ्ले र प्रेस क्लब अध्यक्ष तिम्सिनाले हस्ताक्षर गरेसँगै बीमा औपचारिक रूपमा लागू भएको हो।