वीरता जेसीजद्वारा धान दिवसमा रोपाईं कार्यक्रम — युवालाई माटोसँग जोड्ने प्रेरणादायी पहल

बिर्तामोड, असार १५ ।
असार १५, राष्ट्रिय धान दिवसको अवसरमा वीरता जेसीज २०२५ ले “माटोसँगको सम्बन्ध, सहकार्य र सम्मान” भन्ने नाराका साथ एक सन्देशमूलक धान रोपाईं कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको आयोजना वीरता जेसीज २०२५ का उपाध्यक्ष तथा संयोजक अजय अधिकारीले गर्नुभएको हो, भने कार्यक्रमको प्रभावशाली सञ्चालन महासचिव विज्ञानराज पौडेलले गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता वीरता जेसीजका अध्यक्ष युवराज कुँवरले गर्नुभएको थियो भने प्रमुख अतिथि बिर्तामोड नगरपालिका–३ का वडा अध्यक्ष मदन बुढाथोकी रहनुभएको थियो।


कार्यक्रमको सुरुवात प्रतीकात्मक रूपमा धानको बिउ हस्तान्तरण गरेर गरिएको थियो।
स्वागत मन्तव्य संयोजक अजय अधिकारीले राख्नुभएको थियो, जसमा उहाँले कार्यक्रमको उद्देश्य र जेसीजको समाजप्रतिको प्रतिबद्धता स्पष्ट पार्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जेसीजका पूर्व अध्यक्ष प्रविन खड्का, विशाल थापा, सजेस सिवाकोटी, पूर्व उपाध्यक्ष जीवन खड्का, र माहीभ्याली स्कूलका सञ्चालक दिपक मास्केको उपस्थिति रहेको थियो।
उनीहरूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै वीरता जेसीजको सक्रियताको प्रशंसा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष युवराज कुँवरले भन्नुभयो,

“धान दिवस मनाउनुको प्रमुख उद्देश्य भनेकै युवाहरूलाई खेतीप्रति आकर्षित गर्नु हो। आजका युवाहरू माटोबाट टाढिँदै गएका छन्। कम्तीमा असार १५ लाई पर्वका रूपमा मनाएर माटोसँग सम्बन्ध बलियो बनाउनु जरुरी छ।”

प्रमुख अतिथि वडा अध्यक्ष मदन बुढाथोकीले वीरता जेसीजको प्रयासको खुलेर प्रशंसा गर्दै भन्नुभयो,

“जब युवा नेतृत्व गर्ने संस्थाहरूले यस्ता कार्यक्रम गर्छन्, त्यसले समाजमा सकारात्मक सन्देश दिन्छ। म स्वयं पनि युवा भएकाले यस्ता कार्यले आशा जगाउँछ — यिनै युवाहरू भविष्यमा समाज र राष्ट्रको नेतृत्व गर्न सक्छन्।”

कार्यक्रममा विशिष्ट अतिथिहरू विशाल थापा, सजेस सिवाकोटी लगायतले पनि धान दिवसको महत्त्वमा प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले कृषिप्रति युवाको आकर्षण बढाउने विश्वास व्यक्त गरे।

वीरता जेसीजले नेतृत्व विकास, सामाजिक सेवा, चेतनामूलक अभियान र युवाशक्ति सक्रियतासहित समाजको विभिन्न क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। यो कार्यक्रम त्यसैको एउटा प्रेरणादायी उदाहरण बनेको छ।