बिर्तामोड–७ मा २० थान श्यालो ट्युवेल वितरण, कृषकमा उत्साह

झापा, असार १५ । बिर्तामोड नगरपालिका–७ मा सिँचाइ समस्याबाट जुधिरहेका कृषकहरूका लागि राहत दिने उद्देश्यले २० थान श्यालो ट्युवेल वितरण गरिएको छ । कार्यक्रमको उद्घाटन प्रदेश सरकारका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री माननीय एकराज कार्कीले गर्नुभयो ।

आज विहान सम्पन्न उक्त कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष कृष्ण अविरल खरेलको अध्यक्षता रहेको थियो भने स्थानीय जनप्रतिनिधि, कृषक, सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । मन्त्री कार्कीले स्थानीय किसानलाई श्यालो ट्युवेल हस्तान्तरण गर्दै साना किसानका लागि प्रदेश सरकारले प्राथमिकता साथ अघि सारेको यो योजनाले उत्पादन वृद्धिमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले भन्नुभयो, “हामी कृषिमा आत्मनिर्भर बन्न चाहन्छौं भने सिँचाइ सुलभ हुनुपर्छ । श्यालो ट्युवेलजस्ता उपकरण साना किसानका लागि ठूला परिवर्तन ल्याउने आधार हुन् ।”

वडा अध्यक्ष खरेलले पनि सिँचाइ नपाएर बाँझिएका जमिन अब सिंचित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “वडावासी कृषकहरू वर्षौंदेखि सिँचाइ अभावको मारमा थिए । आजको ट्युवेल वितरणले उनीहरूमा खेतीप्रतिको आशा फेरि जीवन्त हुने विश्वास लिएको छु ।”

कार्यक्रममा बोल्दै स्थानीय किसानहरू खुसी व्यक्त गर्दै आफूहरूले पाउने सुविधाले अब तरकारी र बहुवर्षीय बालीहरूमा लगानी गर्न सहज हुने प्रतिक्रिया दिएका थिए । किसान भन्ने, “बर्खामा त पानी पथ्र्यो, तर अरू समयमा सिँचाइ नहुँदा खेत बाँझै रहन्थ्यो । अब ट्युवेल पाएपछि तरकारी खेतीतर्फ लाग्नेछु ।”

कार्यक्रममा मन्त्री कार्कीले आगामी दिनमा बिर्तामोडलगायत अन्य वडाहरूमा समेत थप ट्युवेल वितरण गरिने जानकारी दिनुभयो । साथै, कृषकलाई तालिम, प्रविधि र अनुदानका कार्यक्रम समेत सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्यालो ट्युवेल वितरण कार्यक्रमले बिर्तामोड–७ का कृषकहरूमा आशा जगाएको छ । सिँचाइको सुविधा पुग्ने वित्तिकै उत्पादनमा बढोत्तरी मात्र होइन, युवाहरूलाई समेत कृषि पेसामा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।