झापामा पनि जेन–जी पुस्ताको प्रदर्शन, सरकारको बेथिति र भ्रष्टाचारविरुद्ध आवाज

झापा । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले सोमबार देशव्यापी रूपमा प्रदर्शन गर्ने भएका छन् । राजधानी काठमाडौंको माइतीघर मण्डलासँगै झापाको बिर्तामोड, दमक, चन्द्रगढी लगायतका मुख्य स्थानहरूमा पनि बिहान ११ बजेदेखि प्रदर्शन हुने भएका छन् ।

प्रदर्शन शान्तिपूर्ण र कानुनी हुने जनाउँदै जेन–जीले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा आन्दोलनको उद्देश्य भ्रष्टलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन रहेको उल्लेख गरिएको छ । उनीहरूको विश्वास छ– यसरी मात्र भ्रष्टाचार निस्प्रभावी भई न्याय, शान्ति र विकास सम्भव हुन्छ ।

जेन–जीले प्रदर्शनमा सहभागी सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेका छन् । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् ।

त्यसैगरी, आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो अभियानलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले स्पष्ट पारेका छन्– यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि हो ।

यता, जेन–जीले सरकार र राज्यका निकायलाई शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न माग गरेका छन् । आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग भए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।