बालुवाटारमा मध्यराति हंगामा : सुदन गुरुङ समूहको प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी

काठमाडौँ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि मध्यराति नाराबाजी गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध गरिएको नाराबाजीमा सहभागी युवाहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारासमेत लगाएका थिए । सो क्रममा जेन जेड आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूका परिवारका सदस्यहरूसमेत सहभागी युवाहरूले नाराबाजी गरेका हुन् ।

बालुवाटारस्थित तीन नम्बर गेट अगाडि उभिएर सुदन गुरुङले भने, ‘सबैभन्दा ठूलो शक्ति नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौँ, त्यो ठाउँबाट थुतेर निकालीदिन्छौ ।’

प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गर्न लागेको सार्वजनिक भएपछि यो विवाद चुलिएको हो ।

सुदन समूहले आफूहरूसँग छलफल नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्टि जनाएको छ । ओमप्रकाश अर्यालप्रति आक्रोश पोख्दै सुदन गुरुङले भने, ‘यो ओमप्रकाश लयर त आफैँले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर’

स्मरणीय छ, सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहकै प्रस्तावमा गत शुक्रबार सुशीला कार्की मुलुककी पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।