
मेचीनगर नगरपालिका वडा नम्बर १२ धाइजन चोक निवासी भलोनी धिमालका पुत्र प्रकाश धिमालको असामयिक निधनले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ। उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लायन्स क्लब अफ धाइजन चारआलीले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी शोकसन्तप्त परिवारलाई खाद्यान्न तथा उपभोग्य सामाग्री प्रदान गरेको छ।
कार्यक्रममार्फत परिवारलाई दाल, चामल, चिउरा, तेल, नुन, न्युटोला लगायत दैनिक जीवनमा आवश्यक पर्ने सामग्री वितरण गरिएको थियो। क्लबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका पीडित तथा विपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएको बताइएको छ।

सो कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर १२ का निवर्तमान वडा अध्यक्ष नगेन्द्र धिमाल, संस्थाका संस्थापक अध्यक्ष हरि प्रसाद घिमिरे, पूर्व अध्यक्ष जगन भट्टराई, टिकाराम रिजाललगायत सम्माननीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित वक्ताहरुले प्रकाश धिमालको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरिएको थियो।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष सुमन चिमरियाले गर्नुभएको थियो भने सञ्चालन सचिव तिर्थ घिमिरेले गर्नुभएको थियो। कार्यक्रमलाई स्मरणीय बनाउन सहभागीहरुले सहयोग र सहकार्यको महत्वलाई जोड दिएका थिए।
