झापा / पुर्बेली समाचार
जेन–जेड आन्दोलनका क्रममा देशभर दर्जनौं सरकारी कार्यालयमा आगजनी र तोडफोड भएका थिए। सोही क्रममा झापाको बिर्तामोड नगरपालिका–७ को वडा कार्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। आगलागीका कारण कार्यालयका सबै सामग्री खरानी बनेका थिए र सेवा पूर्णरूपमा ठप्प भएको थियो।

तर, करिब एक महिनापछि सोही वडा कार्यालय पुनः सेवा सञ्चालनको अवस्थामा पुगेको छ। वडा अध्यक्ष अविरल कृष्ण खरेलले फेसबुकमार्फत ‘वडा पुनर्निर्माण अभियान’ सुरु गरेपछि स्थानीय बासिन्दा, शुभेच्छुक र दाताहरूबाट सहयोग जुट्न थालेको हो।

सो अभियानमा सक्रिय रूपमा जुटेका विद्या राज घिमिरे, अजीत बुढाथोकी, चेतबहादुर पौडेल, गणेश भट्टराई, कृष्ण भट्टराई, गणेश बराल, देवन बानिया, रोशन अधिकारी, युवराज भट्टराई, राकेश बराल, कमल बराल र रबिन बराल लक्ष्मी कान्त बराल लगायतका व्यक्तिहरूले संयुक्त रूपमा वडा कार्यालय पुनर्निर्माणमा रु. ५८,२१२ बराबरको आर्थिक सहयोग गरेका छन्। उक्त रकमबाट कार्यालयका लागि आवश्यक सिसा, झ्याल, ढोका लगायतका सामग्री खरिद गरिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष खरेलका अनुसार, “जनताको सहयोग र साथकै कारण हामीले यो कार्यालय पुनः उठाउन सफल भयौं। सबै सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्दछौं।”
हाल कार्यालयमा टेबल–कुर्सी राख्ने काम सकिएको छ र सामान्य प्रशासनिक सेवा सञ्चालन पनि सुरु भइसकेको छ। स्थानीयको सहभागितामा पुनः सेवा सुचारु भएपछि बिर्तामोड–७ का बासिन्दाले राहतको अनुभूति लिएका छन्।