अत्यधिक मदिरा सेवनबाट एकजनाको मृत्यु

दमक नगरपालिका–७ सयपत्री टोलका ४७ वर्षीय विनोद चौलागाईको अत्यधिक मदिरा सेवनपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

मिति २०८२ कात्तिक २५ गते दिउँसो करिब ३ बजे दमक–७ बोका हाउस अगाडि चौलागाई अत्यधिक मदिरा सेवन गरी लडेका अवस्थामा स्थानीयले फेला पारेका थिए। त्यसपछि उनका भाइ योगेन्द्र चौलागाईले उनलाई घर लगेको प्रहरीले जनाएको छ।

 तर कात्तिक २६ गते बिहान करिब साढे ९ बजे बिरामी भएपछि उपचारका लागि दमक अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि दमक अस्पतालमै पठाइएको र पोस्टमार्टमपछि मृतकका भाइ योगेन्द्र चौलागाईले शव बुझिलिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।