कचनकवलमा आगलागी, करिब ७० लाखको क्षति

झापा, फागुन ४ । झापाको कचनकवल गाउँपालिका–६ कमल बस्तीमा भीषण आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बनियानी बजारदेखि करिब ७ सय मिटर पश्चिमस्थित कमलप्रसाद खतिवडाको दुईतले घर (तल पक्की, माथिल्लो तला काठको बेरा र टिनको छानो भएको) मा हिजो साँझ ७:३७ बजे आगलागी भएको हो। पूजा कोठामा बालेको दियोबाट सल्किएको आगोले घर पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

आगलागीबाट घरभित्र रहेको १ लाख रुपैयाँ नगद, २५ तोला सुन, ७५ तोला चाँदी, २ थान एसी, २ थान स्मार्ट टेलिभिजन तथा अन्य सरसामग्री नष्ट भएका छन्।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकाबाट आएका दमकल परिचालित भएका थिए। करिब दुई घण्टापछि राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

प्रहरीका अनुसार आगलागीमा मानवीय तथा चौपाया क्षति भने नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।